नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ माघ ।

मेलम्चीको खानेपानी आगामी चैतभित्रै राजधानी ल्याउने योजनासाथ मुहान क्षेत्र मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेको छ। गत असार १ गतेको बाढीले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको आयोजनाले जनाएको छ।
मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटरसम्म पुरिएको थियो। चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गतेदेखि काम गरिरहेको छ ।
बाढीले आयोजनाको मुख्य प्रवेशमार्गको आठ किलोमिटर सडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो। चनौटेसम्मका सडक आंशिक क्षति गरेको थियो । चनौटेबाट अम्बाथान पुग्ने आठ किमि सडक र पक्की पुल बाढीले पूर्ण रूपमा ध्वस्त बनाएको थियो। हाल १२ वटा डोजर, स्काभेटर र २२ वटा टिप्पर प्रयोग गरेर आयोजनास्थलमा जम्मा भएका गेग्य्रान, बालुवा, ढुङ्गा हटाउने काम भइरहेको छ।
