मृत अवस्थामा ५ जना फेला

काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित राममन्दिर नजिक बस्ने ध्रुव प्रसाद लामिछानेको घरमा विगत ३ वर्षदेखि बस्दै आएका भारत घर भएका ५७ वर्षीय बाबा अमिताभ सेन गुप्ता आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै पर्सा, बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टी र मधुबनको बिचमा रहेको पुलको माथि भारत मोतिहारी पुर्वी चम्पारण ग्राम पञ्चायत-१ बस्ने २५ वर्षीय तपसी यादव मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ मिलन चोकको सडकमा सोही नगरपालिका-६ नेर्पा बस्ने ५२ वर्षीय नन्द कुमार गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-७ जिरोवारीस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-२ बेतहनीस्थित सडक छेउमा यकिन नाम, थर, वतन नखुलेका सोही ठाउँमा मागी खाई हिड्ने भारत हिमाञ्चल घर बताउने करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार