पार्टीको आन्तरिक विवादबारे छलफल गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। आज बिहान ११:३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

बैठकमा पार्टीमा पछिल्लो समय देखा परेको विवादका विषयमा छलफल हुने बताइएको छ। बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने जनाइएको छ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुने बैठकमा देशभर संगठनका राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ । पार्टीमा अध्यक्षसहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन्।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा समेत छलफल हुने श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार