संसद्को विषयमा यसो भने सभामुख सापकोटाले

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन् । राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार धुलिखेलमा आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे ।

‘संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु’, सभामुख सापकोटाले भने, ‘नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मकरूपमा लिएको छु।’



अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्याउने उनको भनाइ छ। ‘इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरी हुन्। देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ’, उनले भने । देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्छ भने ।

सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड– १९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरुप गर्न नसकिएको बताए ।

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले अत्यन्तै अप्ठेरो परिस्थितिमा प्रदेशसभाले काम गर्नुपरेको अनुभव सुनाउँदै उपसभामुखले आफ्नो अधिकारका लागि लड्नुपरेको अवस्था र घटना सुनाए । मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देवले प्रदेशसभा सञ्चालन र अन्त्य गर्ने अभ्यास गरिरहेकाले पुरुषका तुलनामा कहीँ कतै कमी कमजोरी नभएकाले आफू सक्षम रहेको दाबी गरे ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशसभाले ६१ वटा विधेयक पारितसहित चार वर्षको अवधिमा भए–गरेका कामकारबाही तथा समावेशी र समानुपातिक प्रतिनिधित्वबारे जानकारी गराए । -रासस

सम्बन्धित समाचार