राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आव्हान गरेको छ । बिहीवार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले पार्टी परित्याग गरेका पार्टीका पूर्व अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुर्नविचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आव्हान गरेको हो ।

पूर्वअध्यक्ष थापाले उठाएका विषयहरुमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा थापाले पार्टी परित्याग गर्नुमा उनले समस्या समाधानमा चाहाना नराखेको धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाले पूर्व अध्यक्ष थापाले पूर्ववत् निर्णय पुर्नविचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताए ।



बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने सबै तहमा उम्मेदवार उठाउने निर्णय गरेको छ । देशव्यापी रुपमा प्रशिक्षण सञ्चालन गर्ने तथा हिन्दू राष्ट्र र राजसंस्थाको विषयमा जनतालाई जागरुक गराउन देशव्यापी रुपमा कोणसभा र घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार