कांग्रेसले १६ जिल्लाको अधिवेशन मिति तय गर्यो

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत १६ वटा जिल्लामा रोकिएको जिल्ला अधिवेशन फागुन १३ गते सम्पन्न गर्ने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले एक विज्ञप्ति जारी गर्दै १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन आगामी फागुन १३ गते सम्पन्न गर्ने निर्णय भएको जनाएका छन्।

नेपाली कांग्रेसले मधेस प्रदेशका ८ वटै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिल्ला अधिवेशन गरेको छैन। यस्तै, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा पनि कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन।



यसअघि यी जिल्लामा माघ १५ गते जिल्ला अधिवेशन गर्ने गरी मिति निर्धारण गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरिएको थियो। यस्तै, १६ जिल्लाअन्तर्गत प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा सोही दिन सम्बन्धित क्षेत्रको प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचन समेत सम्पन्न गर्ने जनाइएको छ।

सम्बन्धित समाचार