नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ माघ ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए ।
उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपुर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।
अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए । स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको ठाकुरले बताए ।

