नवकान्तिपुर संवाददाता
काठमाडौं, १ फागुन ।

जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । उद्घाटन नभएसम्मको लागि यात्रु विनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
२०७७ साल असोज २ गते भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको हो । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ ।
अहिले रेल धनुषाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने जनाइएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा दिने रेल्वे कम्पनीको दाबी छ ।
