गठबन्धन टुटाउन र सरकार गिराउन अनेक प्रकारको शक्ति लागिपरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाउन, सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागि परिरहेको बताएका छन् । आज (आइतबार) माओवादीकाे २७ औं जनयुद्ध दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले विगतमा संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएक छन् । उनले जुन सैद्धान्तिक र राजनीतिक मान्यता अनुरुप गठबन्धन खडा भएको हो, यो कुरा गठबन्धनको भाग्य र भविष्यसँग सम्बन्धित रहने समेत बताए । ‘गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरुप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै परियोजनासँग होइन ।’



‘अहिलेको अवस्थामा सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागि परिरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’ यससँगै विभिन्न चिरामा विघटित माओवादी घटकहरुलाई पनि प्रतिक्रान्ति एवम् प्रतिगमनकारीविरुद्ध आत्मसमीक्षा गर्न पनि उनले बताए । आन्दोलनलाई कमजोर र विभाजित गर्ने शक्तिलाई पराजित गर्दै समाजवादको यात्रामा अघि बढ्न सकिने विश्वास हिजो जनयुद्ध सुरु गरेको समयमा जत्तिकै रहेको उनले दृढ विश्वास व्यक्त गरे । मधेस प्रदेशमा पनि जनयुद्ध मनाउने कार्यक्रमका लागि माओवादी अध्यक्ष प्रचण्ड आजै जनकपुर जाने कार्यक्रम रहेको छ

सम्बन्धित समाचार