नवकान्तिपुर संवाददाता
काठमाडौं, २ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताएका छन् । आज (सोमबार) बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गर्ने आफूहरुको मनसाय नरहेको भन्दै ओलीले एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यस्तै ओलीले गठबन्धनले निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने षड्यन्त्र गरेको टिप्पणी गरे ।
‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुपर्छ । आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन’, बैठकमा ओलीले भने । यस्तै ओलीले एमसीसीबारे आफूहरू पर्ख र हेरको नीतिमा रहेको बताएका छन् ।

