रहेनन् साहित्यकार तारानाथ शर्मा

साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । डा.शर्माको ८७ वर्षको उमेरमा आज (मंगलबार) बिहान घरमै निधन भएको हो । उनी ताना शर्माको नामबाट लोकप्रिय थिए । लामो समयदेखि डिमेन्सिया (बिर्सने रोग) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।

१९९१ मा इलामको इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।



‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् । शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको ‘बेलायततिर बरालिँदा’, ‘घनघस्याको उकालो काट्दा’ लगायत कृति चर्चित छन् । उनको आजै अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।

सम्बन्धित समाचार