नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।

नेकपा माओवादी केन्द्रले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही फागुन ८ र ९ गतेका लागि बोलाइएको हो । यसअघि बैठक माघ २८ र २९ गते बस्ने तय भएको थियो ।
पटक पटक स्थगित हुँदै आएको बैठक यस पटक फागुन ८ र ९ गते बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।
बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो, स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

