नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ फागुन ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (बुधबार) एमसीसीविरुद्ध माओवादी केन्द्र एकीकृत समाजवादीका भ्रातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
आजको प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा उत्रिएर विरोध गरेका हुन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । यसअघि आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । प्रदर्शनको क्रममा सामान्य धरपकडसमेत भएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका केही संशोधन गरेर एमसीसी पारित गर्न सकिने बताउँदै आएका छन् । एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्रघाती सम्झौता खारेज गर लगायतका नारा लगाएका छन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

