सरकारले सहयोग नगरे पनि अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाउँदै छौं : आचार्य

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले नेपालको सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आइरहेको छ । केही दशकयता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रूपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुपले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरू स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला तथा अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेला २०७५ को आयोजना गरेको थियो । त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना निरन्तरता दिँदै यस संस्थाले २०७६ मा पर्यटन वर्ष २०२० सफल पार्न दशौैंं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना सम्पन्न गरिसकेको छ । यसै सेरोफेरोमा रहेर एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक सीतल आचार्य ‘सिता’ सँग गरिएको कुराकानी ।



११औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम आरम्भ हुने दिन नजिकिँदै छ, तयारी कहाँ पुग्यो ?
सांस्कृतिक मेलालाई भव्य र सभ्य रूपमा मनाउन सम्पूर्ण कलाकार तथा संस्थाका पदाधिकारीहरू जोडतोडका साथ अन्तिम तयारीमा जुटिरहेका छौँ ।

विगतका यस्ता कार्यक्रमसँग यस पटकको कार्यक्रम तुलना गर्दा के कस्ता थप चुनौतीहरूको सामना गर्नुपरिरहेको छ ?
अहिले विश्वले खेप्नु परेको कोभिड १९ का कारण चुनौतीमाथि चुनौतीको समाना गर्नु परिहेको छ । त्यसैले पनि यो नेपालकै एक मात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला भौतिक रूपमा आयोजना गर्न नसेकेर भर्चुअल रूपमा आयोजना गर्दैछौं ।

यस पटकको कार्यक्रममा कति राष्ट्रहरू र कति कलाकारहरू सहभागी हुने अपेक्षा छ ? नेपालबाट मात्र कुन कुन इभेन्टमा कति कलाकारहरू सहभागी हुँदैछन् ?
धेरैभन्दा धेरै देशहरू भौतिक रूपमै उपस्थित हुने निश्चित भैसकेको यो मेलामा आउन धेरै देशहरूले हवाई टिकट पनि लिइसकेका थिए । त्यति हुँदाहुँदै पनि अन्त्तिम समयमा टिकट रद्द गर्नु परेकोमा धेरै सहभागीहरू दुःखी भएका छन् । त्यसको बाबजुद पनि यो मेला सफल बनाउन पर्छ भनेर भर्चुअल सहभागी हुन नेपालसहित् ३० भन्दा बढी देशले सहभागिता जनाउँदै छन् ।

भर्चुअल रूपमा हुने यस सांस्कृतिक मेलामा सहभागी देश तथा कलाकारहरूको मूल्याङ्कन कसरी हुन्छ ?
भर्चुअल मेला आयोजना भए पनि सहभागी समूहहरूलाई एउटा निश्चित समयका साथै यस मेलामा भाग लिनका लागि पुर्याउनु पर्ने मापदण्डको आधार दिएका थियौं र त्यसकै आधारमा विदेशी समूह चयन गरेका छौं । मापदण्ड पुर्याउन नसकेका धेरै समूहलाई हामीले यस मेलामा सहभागी गराउन सकेनौं । त्यसरी नै मूल्याङ्कनका आधार निश्चित गरेका छौं र पारदर्शी रूपमा सम्पन्न गर्ने छौं ।

यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल सरकार वा कुनै निकायबाट पनि सहयोग हुँदैछ कि त्यो सम्भावना छैन ?
मलाई लाग्छ यो देशमा कला संस्कृति र हामीले आयोजना गर्दै आएको यस्ता कार्यक्रमलाई सहयोग गर्ने नेपाल सरकारको कुनै निकाय नै छैन वा भए पनि कानमा तेल हालेर सुतेर बसेका छन् । अन्तर्राष्ट्रिय स्तरमा सुसम्पन्न हुने यस्ता कार्यक्रमको आयोजना नेपाल सरकार, संस्कति मन्त्रालय, नगरपालिका, राष्ट्रिय नाचघर, संगीता नाट्य प्रतिष्ठान, नेपाल एकेडेमी, नेपाल पर्यटन बोर्ड जस्ता निकायले गर्नुपर्ने हो तर बिडम्बना, आयोजना गर्नु त कता हो कता, उल्टो भाँजो हाल्ने व्यक्तिहरू विराजमान छन् । निजी क्षेत्रले हामी कार्यक्रमको आयोजना गर्छौं, हल मात्र उपलब्ध गराई सहयोग गरिदिनु प‍र्यो भन्दा समेत पनि सहयोग गर्दैनन् । यस्तो देशबाट अरू के कुराको अपेक्षा गर्न सकिएला र ? जे जति गर्न सकेका छौं, आफ्नै बलबुताबाट गरेका छौं ।

विगत लामो समयदेखि लोक संस्कतिका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । कस्तो महसुस हुन्छ ?
कला संस्कृतिको माध्यामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेलाहरूमा सहभागी भइरहँदा सिङ्गो एभरेष्ट नेपाल कल्चरल ग्रुपका अफिसियल्स र कलाकारहरू सबै नै अत्यन्त खुसी मानिरहेका छौं । हामी हामीले गरेको कर्मप्रति गौरवको महसुस गर्छौं । नेपालमा जन्मिएर संसारभरि नेपालको मौलिक कला र संस्कृतिमार्फत् देशलाई चिनाउने अवसर पाएका छौं । एउटा स्वाभिमानी संस्कृतिकर्मीका लागि यो आत्मगौरवको विषय हो ।

अन्य देशका कलाकार र अफिसियल्सहरूलाई ती देशका सरकारले गरेको सहयोग सुन्दा र आफ्नो देशको सरकारको नियति देख्ता भने असीम दुःख लागेर आउँछ । तैपनि हाम्रो यात्रा जारी रहन्छ ।

अन्त्यमा, कोरोनाको कहरका कारण यस वर्ष भौतिक रूपमा मेलाको आयोजना गर्न सकेनौं । यस मेलालाई कष्ठमण्डम टेलिभिजन तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपको युट्युब च्यानल तथा International Folk Festival-Nepal को फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुने हुँदा सोहीअनुसार मेलाको अवलोकन गरिदिनुहुन अनुरोध गर्दछु ।

सम्बन्धित समाचार