नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । आज बस्ने लागेको सत्तारुढ गठबन्धनको बैठकअघि दुई नेताबीच छलफल भएको हो ।
एमसीसीबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । भेटवार्तामा दुबै नेताले आ–आफ्नो अडानमा कायम रहेकाले कुनै सहमति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । त्यस्तै सहमति हुन नसकेपछि गठबन्धनको बैठक ५ बजेलाई सारिएको छ । यसअघि बैठक आज ३ बजे बस्ने तय भएको थियो ।
बुधबार भएको भेटवार्तामा देउवा र प्रचण्डबीच अमेरिकी सहयोग परियोजना एमसीसी हिजोको प्रतिनिधि सभा बैठकमा टेबल नगर्ने सहमति भएको हो । यसैबीच एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आजको लागि बोलाइएको थियो । देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्न पक्षमा छन् भने प्रचण्ड एमसीसीको विपक्षमा छन् । त्यसैगरी बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठक एमसीसीको विपक्षमा उभिने निर्णय गरेको थियो । यस्तै माओवादी केन्द्रले देउवाले एमसीसी जबरजस्ती अघि बढाउन खोजे गठबन्धन तोड्न सक्ने चेतावनी पनि दिएको थियो ।

