नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ फागुन ।

लामो समयदेखि विवादमा फसेको एमसीसी संझौताले नेपालको राजनीतिक समीकरणमै उथल पुथल ल्याउने देखिएको छ । गत आइतबारको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहजीकरण गर्ने बताएका पुष्पकमल प्रचण्ड र माधव नेपाल एकाएक पछि हटेपछि बुधबार जसरी पनि टेबुल गर्न कम्मर कसेर लागेको काँग्रेसलाई धक्का लाग्यो । साथै माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी टेबल गरिए गठबन्धन तोड्ने र सरकारबाट बाहिरिने निर्णय नै गरेपछि नेपाली काँग्रेस नैतिक दवावमा परेको छ ।
प्रचण्डले एमसीसीमा सघाउने शर्तमा प्रधानन्यायाधीशलाई महाअभियोग प्रस्ताव दर्ता गराउन काँग्रेसलाई तयार गराएको भए पनि अन्तिममा धोका दिएकोले अब उनीहरूसँग सहकार्य गर्न नसकिने निष्कर्षमा काँग्रेस पुगेको बताइन्छ । नेताहरूले पार्टी सभापतिलाई गठबन्धनको साथ छोड्न दावाव दिन थालेका छन् ।
देउवाको विकल्प
एमसीसी प्रकरणलाई लिएर सत्ता गठबन्धनका सबै दलहरू एकातिर र काँग्रेस अर्कोतिर भएसँगै देउवालाई गठबन्धन छोड्न दवाव बढेको छ । यो सम्झौतामा सघाउने बताउँदै आएको नेकपा एमालेले पनि परिस्थितिअनुसार आफ्नो अडानबाट पछि हटेकोले राष्ट्रिय राजनीतिमा एमसीसीकै कारण काँग्रेस एक्लिएको छ । साथै सत्ता गठबन्धन टुटेपछि पुन विश्वासको मत लिनुपर्ने अवस्था देउवामाथि आइलाग्ने देखिन्छ । यो अवस्थामा कुनै पनि दलको समर्थन देउवालाई प्राप्त हुने देखिँदैन । उनले विश्वासको मत नपाएसँगै देश संविधानतः अर्ली इलेक्शनमा जाने कानुनका जानकारहरू बताउँछन् । सर्वोच्चको परमादेशले देउवा पछि यही संसद्बाट अर्को सरकारको परिकल्पना नगरेकोले देउवा सरकार नै चुनाबी सरकार हुनेछ ।
यस्तो अवस्थामा घोषणा भएको स्थानीय निर्वाचन पछि सर्ने छ भने आम निर्वाचनको मिति सरकारले तोक्नुपर्ने हुन्छ । दलहरूबीच निर्वाचन मिति र चुनावी सरकारका विषयमा सहमति जुट्न नसकेमा देश राजीतिक सङ्कटमा जाने अवस्थालाई पनि नकार्न सकिँदैन ।
यस्तो हुन सक्छ सम्भावित समीकरण
सत्ता गठबन्धन टुट्ने र एमसीसी पनि पास नहुने अवस्था आएमा आम निर्वाचनको विकल्प त देखिँदैन नै, त्यसमा पनि दलहरूले आफ्नो स्वार्थ अनुकूल कानुनको व्याख्या गरेर आ– आफ्नो दुनो सोझ्उने प्रयास गर्ने नै छन् । नेकपा एमालेले आफू ठूलो दल भएकोले कुनै पनि पार्टी या नेताले बहुमत सिद्ध गर्न नसकेको अवस्थामा आफ्नो नेतृत्वमा चुनावी सरकार गठन हुनुपर्ने दाबी गर्न सक्छ । एमीसीकै कारण काँग्रेससँग सहकार्यको अवसर गुमाएको उसले अन्य दलहरूलाई पनि एक हुन नदिएर निर्वाचनमा एक्लाएक्लै भिड्ने वाावरण बनाएर आफू नै ठूलो दल बन्ने प्रयास पनि गर्न सक्छ ।
यता नेपाली काँग्रेसको प्रयास पनि त्यस्तै हुन सक्छ । कम्युनिष्टहरूलाई पनि एक हुन नदिने र आफू पनि कसैसँग चुनावी तालमेल नगरी निर्वाचनमा जाने प्रयासमा काँग्रेस लाग्ने देखिन्छ । तर माओवादी केन्द्र र समाजवादीबीच भने चुनावी तालमेल हुने सम्भावना प्रवल देखिन्छ । उनीहरूले जसपा, जनमोर्चा र विप्लव र बैद्य माओवादीलाई पनि एक बनाएर निर्वाचनमा जाने प्रयास गर्न सक्छन् । यस्तो अवस्था आएमा अर्ली इलेक्शन रोचक हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउछन् ।
तर एमसीसीमा काँग्रेसको लगाव र विदेशी हस्तक्षेपलाई हेर्दा पुनः बाम एकताको सम्भावनालाई सतहमा ल्याउन सक्ने परिदृश्यलाई पनि नकार्न सकिँदैन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भनिन्छ । यसै भनाइको आधारमा अर्ली इलेक्शनको घोषणा भएको अवस्थामा पुन एमाले, माओवादी र एकीकृत समाजवादीबीच चुनावी सहकार्य नहोला भन्न सकिँदैन । एमसीसीमा अमेरिकाले दिएको दवाव र पश्चिमाहरूको दवदवालाई नजिकबाट नियालेको चीनले नेपालमा वामपन्थीहरूलाई एक ठाउँमा ल्याउन कसरत गरिरहेको छ । त्यसैले आन्तरिक स्वार्थको कारण छिन्नभिन्न भएका कम्युनिष्ट पार्टीहरू वैदेशिक हस्तक्षेप र तत्कालिन बाध्यताको कारण एक नहोलान् भन्न सकिँदैन ।।

