सत्तारूढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

अर्को बैठक ८ गते बस्ने

सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको एमसीसी) परियोजनाको विषयमा छलफल भएको थियो । बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए ।

त्यस्तै बैठकमा एमसीसी परियोजनालाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । यसै विषयमा फागुन ८ गते आइतबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बस्ने पनि उनले जानकारी दिए । त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, ‘प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’



प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठकमा एमसीसीमा टेबुल गर्ने प्रयासमा छन् भने माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताउँदै आएका छन् । यसअघि, सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकले एमसीसीमा अडान परिवर्तन नगर्ने निर्णय गरेको छ । यस्तै हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएपछि देउवा बैठकपछि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

सम्बन्धित समाचार