नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनले संयुक्त रुपमा एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । आज (शुक्रबार ) एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भातृ संगठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा उत्रिएर विरोध गरेका हुन् । उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका केही संशोधन गरेर एमसीसी पारित गर्न सकिने बताउँदै आएका छन् । ‘एमसीसी खारेज गर’, ‘एमसीसी चाहिँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’ लगायतका नारा लगाएका छन् । प्रदर्शनकारीले नो एमसीसी लेखिएको ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

