नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । नवलपरासी (पश्चिम), गैँडाकोट नगरपालिका-१४ सिमल टाँडीस्थित इन्द्र श्री निर्माण सेवा प्रालिमा काम गर्ने प्युठान नौबैनी गाउँपालिका-३ घर भएका ५२ वर्षीय मोतिलाल बुढा मगर आफू सुतेकै टेन्टभित्र शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कैलाली, घोडाघोडी नगरपालिका-१ जनकपुर बस्ने १९ वर्षीय पारस चौधरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस्तै कास्की, पोखरा महानगरपालिका-९ शिव टोलस्थित होटलमा बस्दै आएका स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने ५० वर्षीय लेखनाथ शर्मा सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङ, गढवा गाउँपालिका-२ राप्ती नदीको किनारमा राप्ती गाउँपालिका-३ बस्ने ५४ वर्षीय लप्टेन चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता नवलपरासी (पूर्व), गैँडाकोट नगरपालिका-११ भेडावारीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सुर्खेत, सिम्ता गाउँपालिका-३ औलझ्यामस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता दाङ, घोराही उपमहानगरपालिका-१९ खानिगाउँ बस्ने ५५ वर्षीया इन्द्रा कुमारी घर्ती मगर घर नजिकैको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । छिमेकीको घरबाट बुधबार बिहान घर फर्किने क्रममा बाटोबाट करिब १० मिटर तल खोल्सामा झरेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै कपिलवस्तु, महाराजगंज नगरपालिका-११ विजयनगरस्थित एनआरएस इँटाभट्टामा काम गर्ने कैलाली टिकापुर नगरपालिका-२ विजयनगर घर भएका शंकर चौधरीको छोरा २ वर्षीय सुहिर चौधरी बुद्धभूमि नगरपालिका-७ डेरुवास्थित इँटा उद्योगको कम्पाउण्डभित्र रहेको पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत आइतबारदेखि हराएका सुहिरको खोजी गर्नेक्रममा उक्त पोखरीमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
