नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ फागुन ।

नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने बताएको छ । आज (शनिबार) नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो ।
बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने बताएपनि यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न,’ खतिवडाले भने । त्यस्तै बैठकले एसमीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ । खतिवडाले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ आजको बैठकमा २५ सदस्यले आफ्नो धारणा राखेका थिए ।
यसअघि नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसी संसद्मा टेबुल गर्न नदिने अडान लिएको थियो । एमसीसीबारे अहिले सत्ता गठबन्धनमा मतभेद रहेको छ । प्रधानमन्त्री देउवाएमसीसीलाई संसद्मा टेबल गर्न पक्षमा रहेका छन् भने नेकपा माओवादी केन्द्र भने विपक्षमा रहेको छ । भोलि भोलि दिउँसो १ बजेको बोलाईएको प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेको छ ।

