नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन १२ गते बिहीबार बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीकोबीच एमसीसी संसदमा टेबल भएको हो । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरु, नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु, राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे । आज बिहान सत्तारुढ दलको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो ।
त्यस्तै आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको थियो । लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट टेबल भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७-७८’ फेश गरेका छन् । यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयोग विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको विधेयक टेबल गरे ।

