नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।

नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज (सोमबार) नेकपा एमालेका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित कार्यक्रमका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य कानून, सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत काँग्रेस र एमालेका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उक्त अवसरमा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ थियो । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनले बताए ।

