नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ फागुन ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा २४७ जना र दुई हजार ९१५ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार २०५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५२ हजार ५९९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ । जसमा १० हजार ८१९ जना होम आइसोलेसनमा छन् भने ४६३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १३९ संक्रमित आईसीयूमा र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७५ हजार ८०६ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ७३८ जना पुगेको छ ।