नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ फागुन ।

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आग्रह गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले यस्तो आग्रह गरेका हुन् ।
गौतमले अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको बताए । उनले नेपालको संविधान बमोजिम संघीय कानुन अनुसार बनिनसकेको अवस्थामा एमसीसी परियोजना अनुदान संसदमा प्रस्तुत गर्न नमिल्ने बताएका हुन् ।
‘टोपी हातले समाउँदै एम सि सिलाई सकिनसकि बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ ‘ विज्ञप्तिमा उल्लेख छ ।
विवादित परियोजनाले नेपालको अहित गर्ने भन्दा गौतमले एमसीसी परियोजना फिर्ता गर्न अमेरिकी सरकारसँग अनुरोध पनि गरेका छन् । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् । एमसीसी अन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर (५७ अर्ब नेपाली रुपैयाँ) अनुदान परिचालन गरिने सम्झौता छ । त्यसैले अमेरिकाले एमसीसी चाँडै संसद्बाट अनुमोदन होस् भन्ने चाहेको छ र दवाव पनि दिइरहेको छ ।
विज्ञप्ति
