आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (शुक्रबार) बैठक संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सार्वजनिक गरेको सूचनामा शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए । यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेका थिए  ।



मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ। बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने बताएको थियो।

 

 

सम्बन्धित समाचार