नेकपा माओवादी केन्द्रको बैठकले गर्यो यस्तो निर्णय

नेकपा माओवादी केन्द्रले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकले एमसीसीको विषयमा पार्टीले लिँदै आएको अडानलाई कायम राख्दै गठबन्धन जोगाउन प्रयास गर्ने निर्णय गरेको छ । बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणा रहेको बताइएको छ । यस्तो अवस्थामा सत्ता गठबन्धनलाई अझै बचाउने प्रयास गर्ने माओवादी केन्द्रले जनाएको हो । माओवादीले यथास्थितिमा एमसीसीका पक्षमा मतदान नगर्ने निर्णय यसअघि नै गरिसकेको छ ।



त्यस्तै आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि आइतार १ बजेसम्मको लागि स्थगित भएको छ । संसदमा एमसीसी पास गर्ने अडान लिँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाटमा दौडधुप गरिरहेका छन् । देउवाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै संसद सुचारु र एमसीसी अनुमोदनका लागि साथ दिन आग्रह गरेका थिए ।

सम्बन्धित समाचार