मृत अवस्थामा १२ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । मोरङ, लेटाङ नगरपालिका-८ बस्ने अजय राईकी छोरी १२ वर्षीया करुणा राई सोही नगरपालिकास्थित हिरा सामुदायिक वनमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । लेटाङ नगरपालिका-८ स्थित जाँते माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनी बुधबार स्कुलबाट घरतर्फ आउनेक्रममा हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनको शव उक्त वनमा ढुङ्गाले छोपेर राखिएको अवस्थामा फेला परेको हो । घटनामा शंकास्पद ५ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, बर्दिवास नगरपालिका-४ विश्वकर्मा चोकस्थित श्रीबाबा विश्वकर्मा मोटरसाइकल वर्कसपको ग्यारेजभित्र सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने ४४ वर्षीय धन कुमार लामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा बस्ने ४० वर्षीय नारायण मल्ल आफ्नै घरभित्र सुतेकै ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै मोरङ, सुनवर्षी नगरपालिका-७ बरडंगा चैटा बस्ने ६० वर्षीय गंगा प्रसाद ताँती घर नजिकै रहेको पोखरीमा डुबेर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता धनुषा, जनकपुर उपमहानगरपालिका-२० स्थित माँ भवानी फिक्स इँटा उद्योगमा काम गरी बस्ने भारत घर भएका ३५ वर्षीय सहदेव बर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार रातिदेखि इँटा उद्योगबाट हराएर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा सोही ठाउँस्थित जलाद खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-९ छप्की पोखरी बस्ने ४५ वर्षीया सेवकी मोची शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । घरमा कोही नभएको अवस्थामा घुर ताप्नेक्रममा घुरमा घोप्टो परी लडेर जलेको अवस्थामा उनको शव फेला परेको हो । यता बझाङ, बुङ्गल नगरपालिका-४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी हुन् । फागुन १० गते आफ्नो घरबाट बित्थडचिर गाउँपालिका-६ स्थित छोरीको घर गएकी उनी छोरीको घरमा नपुगेको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका-६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल उनको शव फेला परेको हो ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-३२ खुदीखोलास्थित पहरे भिरबाट अन्दाजी १ सय १० मिटर तल सोही ठाउँ बस्ने १४ वर्षीया सबिना परियार बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी काठमाडौं महानगरपालिका-३१ शंखमुल क्षितिज मार्ग बस्ने ३६ वर्षीया साहारा गुरुङ पौडेल सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । बुधबार बेलुकी खाना खाएर पतिसँगै सुत्न गएकोमा बिहान अबेरसम्म नउठेपछि ढोका खोलेर हेर्दा साहारा मृत अवस्थामा फेला परेकी थिइन् भने उनका पति अचेत अवस्थामा फेला परेकोले उपचारको लागि मध्य बानेश्वरस्थित भेनस अस्पतालमा पठाइएको छ ।

यसैगरी कालिकोट, पालाता गाउँपालिका-९ मनखाडा कर्णालीटापुस्थित नदी किनारामा बाजुरा स्वामी कार्तीक खापर गाउँपालिका-१ रुडी बस्ने १५ वर्षीय जोशील बम बिहीबार मृत अवस्थामा फेला परेका छन् । कर्णाली नदीमा माछा मार्ने क्रममा गत माघ १८ गते नदीले बगाएर बेपत्ता भएका उनको उक्त स्थानमा शव फेला परेको हो । यता सुनसरी, भोक्राहा नरसिह गाउँपालिका-७ घर भएका शिव नारायण मेहेताको छोरा डेढ वर्षीय रोहित मेहेता बिहीबार मृत अवस्थामा फेला परेका छन । सोही गाउँपालिका-१ काली मन्दिर टोलस्थित मामली घरको आँगनमा खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो ।

त्यसैगरी नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका-६ प्रसैया जंगलस्थित बाटोमा भारत उत्तर प्रदेश कोशीनगर घर भएका ४० वर्षीय विनोद सहनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार