संसदमा एमसीसीको विषयमा यसो भने भीम रावलले

नेकपा एमालेका सांसद भीम रावलले राष्ट्रिय स्वाधिनताजस्तो विषय होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी भएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै उनले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) अस्वीकार गर्न सबैलाई आह्वान पनि गरेका छन् ।

व्याख्यात्मक टिप्पणीबाट सम्झौता अनुमोदन गर्न खोज्न जनतालाई झुक्याउनुमात्र भएको भन्दै रावलले एमसीसीमार्फत नेपाललाई अमेरिकी छातामुनि राख्ने र विदेशीले सामानान्तर सरकार चलाउने बाटो राखिएको दाबी गरेका छन् । त्यस्तै उनले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताएका छन् । रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे ।



देशलाई दीर्घकालीन रुपमा पर्ने असरलाई वेवास्था गर्दै सरकारले अनुमोदन गर्ने निर्णय गरेकोप्रति उनले आपत्ति जनाउदै नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता स्वीकार्य नहुने उनको भनाइ छ । ‘अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक नीति विपरीत कुनै काम गर्न नपाइने प्रावधान एमसीसीमा राखिएको छ । नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्ने, विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो खोलिएको छ,’ रावलले भने । रावलले भने, ‘राष्ट्रिय स्वाधिनताजस्तो विषय यस्तो होहल्लाका बीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो, यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ ।’

सम्बन्धित समाचार