नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन् । एमसीसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसीसीको पक्षमा उभिएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसीसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताए ।
‘एमसीसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो, उनले भने ।
अध्यक्ष नेपालले एमसीसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताए ।
व्याख्यातमक घोषणाप्रति आलोचना गर्नेलाई उनले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गरे । नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । ‘सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ’, उनले भने ।
व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उनले आफूहरुलाई निमिट्यान्न पार्ने षडयन्त्र चकनाचुर भएको बताए । ‘पछिल्ला दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो’, अध्यक्ष नेपालले भने, ‘तर त्यो षडयन्त्र सफल हुन सकेन ।’
