सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्य, एमसीसी कार्यान्वयन र संसद अवरुद्ध अन्त्य गर्ने विषयमा छलफल भएको हो । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गर्दै चुनावी सहकार्यको विषयमा सकेसम्म मिलेर जाने निर्णय भएको छ ।

सार्वभौम संसदमा अवराेध भएको महत्वपूर्ण विधेयकहरुमा छलफल गर्नुपर्ने भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । त्यस्तै उनले एमसीसी पारित भएपछि गठबन्धन झन् बलियो भएको भन्दै एमसीसी परियाेजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयाेग फिर्ता जाने भन्दै यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको प्रवक्ता कार्कीले जानकरी दिए ।



त्यसैगरी प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जाने भन्दै आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताए । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुकाे उपस्थिति रहेको थियाे ।

सम्बन्धित समाचार