नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आज (शुक्रबार) बाट पदावधि सकिएको छ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् ।
नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादीका चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली काँग्रेसका तीन सदस्यको पनि भएको हो । राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनीत सदस्य बिडारीको पनि आजकै मितिमा चारवर्षे कार्यकाल समाप्त भएको हो ।
पदमुक्त भएका एमाले सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । त्यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी र माओवादी केन्द्र सांसदहरुमा खिमकुमार विक, जीवन बुढा,. दीनानाथ शर्मा र शशीकला दाहाल पदमुक्त भएका हुन् ।
विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिएको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । चारवर्षे पदावधि सकिनेमा सात महिला, तीन दलित समुदाय, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट दुई र अन्य समुदायका सात सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुन्छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।राष्ट्रियसभा सदस्यका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । प्रबुद्ध समूहको प्रतिनिधित्व हुने भएकाले राष्ट्रियसभालाई परिपक्व सदन मानिन्छ । विसं २०७४ मा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) २७, नेपाली काँग्रेस १३, नेकपा (माओवादी केन्द्र) १२ तथा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र सड्घीय समाजवादी फोरमले दुई-दुई सिटमा विजय हासिल गरेका थिए ।
रिक्त पदपूर्तिका लागि यसअघि नै १९ जना निर्वाचित भइसकेका छन् । छ वर्षे कार्यकालका लागि निर्वाचित १९ जना सदस्यले फागुन २१ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथग्रहण गर्नेछन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने र राष्ट्रपतिसमक्ष नै शपथ लिने प्रावधान छ । निर्वाचन आयोगका अनुसार माघ १२ गते सम्पन्न मतदानमा नेपाली काँग्रेसका छ, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका पाँच–पाँच तथा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य निर्वाचित भएका थिए ।
निवार्चित हुनेमा काँग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत, माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदनकुमारी शाह, जसपा नेपालका मोहम्मद खालिद, नेकपा (एमाले)का सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा रहेका छन् ।
