स्थानीय तहको चुनाव र राप्रपाको बढ्दो क्रेज

सरकारले २०७९ वैशाख ३० गते देशभरी एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मितिसमेत घोषणा गरिसकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यलयहरूले पनि आ–आफ्नो जिल्लामा चुनावको तयारीलाई तीव्र पार्दै गएका छन् ।

स्थानीय तहको निर्वाचन आउन लगभग ७० दिन मात्र बाँकी छ । निर्वाचन आयोगको चुनावी तयारीसँगै राजनीतिक दलहरूले चुनावी गतिविधिलाई गति दिन थालेका छन् । नेपालमा हाल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, राप्रपालगायत अन्य सानादलहरू पनि अस्तित्वमा छन् । संख्याका हिसाबले अस्तित्वमा रहेका दलहरू धेरै भए पनि यिनीहरूको भाग्य र भविष्यको निर्धारण भने अब हुने स्थानीय निर्वाचनले गर्ने पक्का छ ।



पछिल्लो समयको कटु यथार्थ भनेको ठूला राजनीतिक दलहरूबाट नेपाली जनता वाक्क दिक्क भएका छन् । अहिले अस्तित्वमा देखिएका ठूला पार्टीहरू आलोपालो सत्तामा पुगेर पनि जनताको समस्याका सवालमा उल्लेखनीय केही गर्न सकेनन् अथवा जनताका पक्षमा देखिने गरी काम गर्न रुचि नै देखाएनन् । शीर्ष नेताहरू र उनीहरूका आसेपासेबाहेक आम नेपाली जनताको दैनिकी र समस्यामा कुनै उल्लेखनीय परिवर्तन आउन सकेन । हिजोका महाराजभन्दा आजका बडामहाराजको शान र मान थामिनसक्नु भयो । स्थानीय सरकारदेखि संघीय सरकारसम्म अराजक हुँदैजाँदा बेथिति र भ्रष्टाचारले मुलुक जर्जर बन्दै गयो तर पनि कुनै पार्टी संवेदनशील बन्न सकेन । चुनावी घोषणापत्रलाई सिरानमा राखेर आफ्नो मात्र हितका लागि क्रियाशील नेताहरू देखेर नेपाली जनता आजित बनेका छन् र विकल्पको परिकल्पना गर्न थालेका छन् ।

सम्भवतः यही कारण नेपाली जनताहरूले टोल टोलमा बडामहाराजहरू पाल्नुभन्दा एउटै राजा पाल्नु उचित हुने ठानी विस्तारै पूर्वराजाप्रति मोह बढाउँदै गएको देखिन्छ । यसको एउटा मार्मिक दृष्टान्त गएको शिवरात्रिको एउटा घटनालाई लिन सकिन्छ । परमपरागत रूपमा पूर्व राजा ज्ञानेन्द्र शाह पशुपतिनाथको दर्शन गर्न जाँदा उपस्थित हजारौं भक्तजनहरूले स्वतःस्फूर्त रूपमा राजाका पक्षमा गरेकोे नाराबाजी र देखाएको उत्साहले शीर्ष नेताहरूप्रतिको आक्रोश पूर्वराजाको सम्मानका रूपमा बदलिएको आभास दिन्थ्यो । पूर्वराजाका पक्षमा उर्लेको जनलहरका अगाडि गणतन्त्र नेपालका राष्ट्रपतिको सवारी धेरै फिक्का देखिन्थ्यो । मुलुकका लागि यो राम्रो सङ्केत होइन ।

यदि पूर्वराजाका पक्षमा पशुपतिनाथ मन्दिरको परिसरमा देखिएको जनलहरलाई साङ्केतिक रूपमा बुझ्ने हो भने अबको स्थानीय तहको निर्वाचनको परिणाम पहिलेको भन्दा फरक हुने अनुमान गर्न गाह्रो हुने छैन् । हिन्दूराज्य र राजासहितको लोकतन्त्रको वकालत गरिरहेको राप्रपाले विस्तारै आफ्नो प्रभाव बढाउँदै छ । गणतन्त्रवादी नेताहरूको भन्दा राप्रपाका नयाँ युवा अध्यक्ष राजेन्द्र लिङ्देनको क्रेज पनि बढ्दो अवस्थामा नै देखिन्छ । गणतन्त्रका पक्षधरहरूले परिस्थितिलाई गम्भीर रूपमा समीक्षा गरेर आफ्नो चरित्र सुधार नगर्ने हो भने अब हुने चुनावको परिणाम् वास्तवमा नै अनपेक्षित नहोला भन्न सकिन्न ।

 

सम्बन्धित समाचार