अर्ली इलेक्शनको जोखाना हेर्दै काँग्रेस र माओवादी, एमसीसीमा सघाएवापत निर्वाचनमा सहकार्य गर्ने भद्र सहमति

व्याख्यात्मक टिप्पणीको सहारामा एमसीसीलाई किनारा लगाएको सत्ता गठबन्धन नेकपा एमालेविरुद्ध थप संगठित हुने तयारीमा छ । त्यसका लागि संघीय निर्वाचन पहिला गर्ने रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागिपरेका छन् । एमालेले लगातार संसद् बन्धक बनाएपछि त्यसैको बाहनामा सरकारले संघीय निर्वाचन पहिला गर्ने तयारी थालेको स्रोतको दाबी छ । देउवा पनि संघीय निर्वाचनमार्फत काँग्रेसलाई पहिलो दल बनाएर पाँच वर्षको लागि सरकार सुनिश्चित गरेर स्थानीय निर्वाचन गर्दा आफ्नो पार्टीलाई फाइदा पुग्ने बुझाइका साथ आन्तरिक तयारीमा जुटेका हुन् ।

अर्ली इलेक्शनमा जाँदा स्थानीय तह केही महिना रिक्त रहने हुँदा त्यसको प्रत्यक्ष असर एमालेलाई पुग्ने गठबन्धनको बुझाइ छ । अहिले अधिकांश स्थानीय तहमा नेकपा एमालेको नेतृत्व रहेको छ । यो मेसोमा स्थानीय निर्वाचन गर्दा प्रत्यक्ष परोक्ष रूपमा एमालेलाई नै फाइदा हुने भएकोले संघीय निर्वाचन र प्रदेश निर्वाचन अगाडि सार्ने तयारीमा गठबन्धन लागेको हो । स्थानीय निर्वाचनमा सहकार्य गर्ने केन्द्रको निर्णय स्थानीय तहले उल्लंघन गर्न सक्ने र त्यसको असर संघीय निर्वाचनमा पर्ने सम्भावना देखिएकोले पनि प्रचण्ड र देउवा स्थानीय निर्वाचन सार्ने तयारीमा जुटेका हुन् । साथै स्थानीय निर्वाचनमा गठबन्धन असफल भए संघीय निर्वाचनसम्म गठबन्धन नरहेने र त्यसको प्रत्यक्ष फाइदा नेकपा एमालेले लिने देखिएकोले पनि गठबन्धनका नेताहरु स्थानीय निर्वाचन टार्ने रणनीतिमा लागेका हुन् ।



गठबन्धनमा भद्र सहमति
त्यसो त लामो विवादपछि गठबन्धनमा एमसीसी पास गर्ने सहमति जुटेको थियो । विरोध जनाउँदै आएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले निर्वाचनमा सहकार्य गर्ने सर्तमा मात्र एमसीसी पास गर्न सघाएको बताइन्छ । यसबारे देउवा, प्रचण्ड र माधव नेपालबीच भ्रद्र सहमति नै भएको स्रोतको दाबी छ । त्यसैले निर्वाचनमा सहकार्य नहुने बताउँदै आएका काँग्रेसका नेताहरुको पनि पछिल्लो समय बोली फेरिएको छ भने प्रचण्डले पनि आफ्नो पार्टीको केन्द्रीय कमिटीको बैठकमा निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने र नेपाली काँग्रेस पहिलो र आफ्नो पार्टी दोस्रो ठूलो दल बन्ने ठोकुवा गरेका थिए ।

एमालेको आपत्ति
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धनले स्थानीय निर्वाचन टार्ने तयारी गरेपछि यसको विरोध गरेको छ । शनिबार मात्र संविधानसभाका अध्यक्षसमेत रहेका पार्टी उपाध्यक्ष सुवास नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका दलहरु पुन निर्वाचन सार्ने तयारीमा रहेको भन्दै एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए । उनले एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरेको भन्दै स्थानीय तह रिक्त बनाउने षडयन्त्र पूरा हुन नदिने बताए ।

ओलीलाई फकाउने जिम्मा देउवालाई
सत्ता गठबन्धनले अर्ली इलेक्शनमा जाने निर्णय गर्नु अघि प्रतिपक्षी एमालेसँग पनि परामर्श गर्ने भएको छ । त्यसको जिम्मा गठबन्धनले प्रधानमन्त्री देउवालाई दिएको बताइन्छ । यसअघि पनि ओलीले देउवालाई अर्ली इलेक्शनमा जान सकिने आशय व्यक्त गर्दै आएकोले सहमति जुटे राष्ट्रिय सहमति जुटाएरै अर्ली इलेक्शनमा जाँदा जनमानसमा पनि राम्रो छाप पर्ने भन्दै प्रचण्ड र नेपालले पनि देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको बुझिन्छ । यसअघि २–२ पटकसम्म संसद् विघटन गरेका ओली पनि देश आफ्नै एजेण्डामा आएको भन्ने पार्नको लागि पनि अर्ली इलेक्शनमा जान तयार हुनसक्ने गठबन्धनको बुझाइ छ ।

 

सम्बन्धित समाचार