महाअभियोग सिफारिस समिति गठन, को-को छन् समितिमा ? (सूचीसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय सिफारिस समिति गठन गरिएको छ । आज (आइतबार)प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग प्रक्रिया अघि बढाउन समिति गठन सम्बन्धि प्रस्ताव स्वीकृत भएको जानकरी दिए ।

सो प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले बताए । महाअभियोग सिफारिस समितिमा नेपाली काँग्रेसबाट मिन बहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ, जनता समाजवादी पार्टीबाट प्रमोद साह र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल रहेका छन् ।



गत फागुन १ गते जबराविरुद्ध महाअभियोग संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको हो । त्यस्तै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार