पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न अनुमति

पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । आज (आइतबार) जिल्ला अदालत तनहुँले नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता शाहलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेकोमा अदालतले यस्तो आदेश दिएको हो । यसअघि उनलाई प्रहरीले सात दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । जबरजस्ती करणीसम्बन्धी कसूरमा अभिनेता पल शाहविरुद्ध किटानी जाहेरी परेको थियो । नाबालिग गायिकाले उनीविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । ती गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । अभिनेता शाहले म्युजिक भिडियो सुटिङका क्रममा तनहुँ गएका बेला ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको आरोप लागेको छ ।



पीडित नाबालिकाको तर्फबाट उनको पिताले जाहेरी दर्ता गरेका हुन् । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । पलविरुद्धको जाहेरी पुष्टि भएमा उनलाई १० देखि १२ वर्षसम्म सजाय हुनेछ ।

सम्बन्धित समाचार