नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको २ महिना बितिसकेको छ तर अझै अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन । जारी केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुङ्गो लगाउने बताइए पनि पार्टीमा जारी अन्तरविरोध र महासचिवमा आकांक्षीहरूको दाबीले गर्दा यो प्रक्रियाले पूर्णता पाउनेमा आशंका उब्जिएको छ ।
पार्टीमा नेताद्वय जनार्दश शर्मा र वर्षमान पुनले महासचिवमा दाबी गर्दै आएका छन् । उनीहरू दुबैजना पछि हट्न नमानेपछि माओवादीको पदाधिकारी चयन प्रक्रिया अलपत्र परेको थियो । हाल आएर पार्टीमा असन्तुष्टि जनाएर दुई पार्टीको अभ्यासमा लागेका नेता नारायणकाजी श्रेष्ठले पनि आफू पक्षका नेता गिरिराजमणि पोखरेललाई महासचिव बनाउनुपर्ने दाबी गर्न थालेपछि प्रचण्ड थप सकसमा परेका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी पास गरेकोमा पनि नेताहरूले प्रचण्डप्रति आक्रोश पोखिरहेका छन् । नेता श्रेष्ठले त पार्टीको तर्फबाट अडान राख्न नसकेको भन्दै प्रचण्ड असफल भएको मत राख्दै आएका छन् । एमसीसी पास भएपछिको पत्रकार सम्मेलनमा प्रचण्डले केही नेताहरूले एमसीसीको विरोध गरेर जनसमर्थन पाउने आश गरे पनि त्यसो नहुने भन्दै आक्रोश पोखेपछि नारायणकाजी श्रेष्ठ प्रचण्डसँग रूष्ट हुँदै आएका छन् । यसकै बदलास्वरूप उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्ड असफल भएको भन्दै अध्यक्षको विकल्प खोज्नुपर्ने मत राखेका थिए । तर श्रेष्ठको यो प्रस्तावलाई प्रचण्डले हाँसोमै उडाइदिएका थिए ।
पछिल्लो समय नेकपा अध्यक्ष विप्लवसँग भेटेरै पार्टी फुटाउनेसम्मको चेतावनी दिएका श्रेष्ठले पार्टीको केन्द्रीय कमिटीदेखि पदाधिकारीसम्ममा भाग खोजेपछि प्रचण्ड तनावमा छन् । उनलाई बेवास्था गर्दा निर्वाचनको मुखमा पार्टी फुट्ने, उनको माग सम्बोधन गर्दा नेताहरूको व्यवस्थापनमा नै समस्या आउने देखिपछि प्रचण्डले आइतबारको केन्द्रीय कमिटी बैठक नै स्थगित गरेका थिए । यतिमात्र होइन, नारायणकाजी श्रेष्ठले पार्टी महासचिवमा आफूनिकटका नेता पोखरेललाई नियुक्ति गर्न दवाव दिएपछि पुन र शर्मा पनि उनीसँग रूष्ट हुन पुगेका छन् ।
निर्वाचनको मुखमा पदाधिकारी चयनलाई लिएर पार्टीभित्र आन्तरिक विवाद बढ्ने देखिएपछि प्रचण्ड बैठक स्थगत नै गरेर आन्तरिक छलफलमा जुटेका छन् । माओवादीका संस्थापन पक्षले भने प्रचण्डलाई श्रेष्ठलाई पेलेरै अघि बढ्न सुझाव दिएका छन् । श्रेष्ठले पार्टी नछोड्ने र छोडे पनि निर्णयक क्षति कुनै पनि क्षेत्रमा नहुने भन्दै खुट्टा नकमाउन नेताहरूले प्रचण्डलाई सुझाव दिँदै आएका छन् ।
हस्तक्षेप नगर्ने प्रचण्डको तयारी
महासचिवसहित पदाधिकारी चयनमा आफूले नाम लिँदा वा एकलाई च्याप्ता अर्को रिसाउने परिस्थिति आउने भएपछि प्रचण्डले एक कमिटी बनाएर सोही कमिटीलाई पदाधिकारी चयन गर्ने जिम्मा दिने तयारी गरेको बुझिएको छ । अरूको काँधमा बन्दुक राखेर निशाना लगाउन खप्पिस प्रचण्डले पदाधिकारी चयनमा पनि सोही रणनीति तय गर्ने भएका हुन् ।
अन्य राजनीतिक दलहरू महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा होमिइसकेको अवस्थामा माओवादी भने पदाधिकारी चयन गर्न नसकेर रूमलिरहेको छ । यसले आगामी निर्वाचनमा पार्टीलाई क्षति पुग्नसक्ने भन्दै नेताहरूले अध्यक्षमाथि दवाव बढाइरहेका छन् । त्यसैले पनि माओवादीको यो केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्नेमा नेताहरू ढुक्क देखिन्छन् ।।
