नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका-१७ कालिनजोर पुल नजिकै हरिवन नगरपालिका-२ बस्ने ३५ वर्षीय बृतम मुक्तान आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-७ बरहैयास्थित खेतमा पुर्नवास नगरपालिका-१ पुरैना बस्ने ३६ वर्षीय राम स्वरुप राना आइतबार मृत अवस्थमा फेला परेका छन् । यस्तै सिरहा, बिष्णुपुर गाउँपालिका-१ स्थित खेतमा सोही गाउँपालिका-१ चमर टोली बस्ने १७ वर्षीय रमेश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ गर्जेटोल बस्ने भक्त बहादुर रानाकी छोरी ५ वर्षीया सपना राना सोही ठाउँस्थित मान खोलामा शनिबार राति मृत अवस्थामा फेला परेकी छन् । दिउँसोदेखि घरबाट हराएकी उनको खोजी गर्नेक्रममा उक्त खोलामा डुबेको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वनकटुवा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ भालुखोप बस्ने ७८ वर्षीया बिष्णु माया कार्की घरदेखि नजिक रहेको फेलानचौरको भिरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । गत फागुन १७ गते बिहान सोही गाउँपालिका-६ थुम्पाखरस्थित छोरीको घरमा जान्छु भनि हिडेकी उनी छोरीको घरमा नआएपछी खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यता काठमाडौं महानगरपालिका-२३ चिकामुंगलस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
