नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको तेस्रो दुई दिने पूर्ण बैठक सुरु बस्दैछ । आज (बुधबार) बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि बैठक बस्न लागेको हो ।
बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउने, रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सङ्गठनात्मक अवस्था, एमसीसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरण समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा आगामी निर्वाचनसम्म गठबन्धनलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे पनि छलफल हुने जनाइएको छ । उक्त बैठकमा छलफल गरिने केही महत्वपूर्ण विषयमा सोमबार बसेको पोलिटब्यूरो बैठकले टुङ्गो लगाएको थियो ।
