नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।
नेपालमा आज (बुधबार) सुनको मूल्य दुई हजार ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ५०० रुपैयाँ रहेकोमा मंगलबार रु एक लाख ३ हजारमा कारोबार भएको थियो । यो मूल्य नेपाली सुन बजारमा अहिले सम्मकै सर्वाधिक मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख, ५ हजार रहेकामा मंगलबार प्रतितोला रु एक लाख, २ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ४० रुपैयाँ बढ्दै एक हजार ४५० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार ४१० मा कारोबार भएको थियो ।
सुनको मूल्य यसअघि, २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस दुई हजार ५६ डलर आसपास कारोबार भइरहेको छ ।