गठबन्धनको विषयमा यसो भने माधव नेपालले

निर्वाचनमा पनि गठबन्धन कायम रहन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जाने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज (बुधबार) राजधानीमा शुभारम्भ गर्दै उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम रहने बताएका छन् ।

गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, ‘आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्‍यो, एमसिसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबीचको सहमति कायम रहने छ ।’ अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गरेका छन् ।



त्यस्तै उनले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् । उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रूपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ ।’ नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरूप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छौँ, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।’ बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेका छन् । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार