नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ फागुन ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । आज (बुधबार) देउवा र फ्रान्सेली प्रतिनिधिबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले बताएको छ । फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोतोँ नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँच दिने औपचारिक भ्रमणका लागि मङ्गलवार राजधानी आइपुगेको हो ।
नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । उनीहरुका साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । भेटमा प्रधानमन्त्री देउवाले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहिआएको नेपालको मित्रराष्ट्र फ्रान्सले नेपालका आर्थिक, सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगको सराहना गरेका थिए ।
