नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।

संखुवासभा मा आज(बिहीबार) बिहान भएको बस दुर्घटना परी मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । उक्त दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटना आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ५ जनाको जिवितै उद्दार गरिएको थियो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
