नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ फागुन ।

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आज (शुक्रबार) बिहान ८:३० बजे कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागिमा परी एक महिलाको मृत्यु भने एक घाइते भएकी छिन् ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बू रहेको छिन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा निधन भएको हो । त्यस्तै उनकी नातिनी १६ वर्षीया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।
आगो नियन्त्रणमा आइसकेको छ। आगलागी नियन्त्रणका लागि स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी खटिएका थिए । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको थियो ।
