नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१४ विजयपुर नजिक सडक छेउमा सोही महानगरपालिका-१० कुँडहर चोक बस्ने तनहुँ व्यास नगरपालिका-८ जौवारी घर भएका ३५ वर्षीय मिन कुमार गोसेली शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ चारदोवाटोस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव शुक्रबार फेला परेको छ । यता सिरहा, लहान नगरपालिका-१६ तरेगनास्थित जंगलको खोल्सीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिला र अन्दाजी २६ वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा शुक्रबार फेला परेको छ ।
त्यसैगरी नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ शिलान्यास चोकस्थित पार्कमा रहेको प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नुवाकोट, ककनी गाउँपालिका-१ खानीखोलास्थित गाई गोठ अगाडि किस्पाङ गाउँपालिका-३ बस्ने ४२ वर्षीय डिम्बाचा तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी गुल्मी, गुल्मीदरबार गाउँपालिका-६ तल्लो रिपाहा बस्ने ५६ वर्षीय मान बहादुर सिंजाली आफ्नै गोठ नजिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
