माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको सुनुवाइ आज, के आउँला आदेश ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख र निर्वाचन आयोगलाई दायर गरेको रिटको सुनुवाइ आज(आइतबार) हुने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

यसअघि १० पटक स्थगित भइसकेको यो रिटको १२औँ पेसी हो । आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । गत भदौ १० गतेको बसेको एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त गर्न माग गर्दै सभामुख सापकोटाले यस विषयमा गम्भीर नभएको भन्दै एमालेले अदालत जाने निर्णय गरेको थियो ।



एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पार्टीले लगाएको ह्विप उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेले दर्ता गरेको दुई मुद्दा एकसाथ पेसीमा चढेको हो । एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर २०७८ भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । गत भदौ १ मा एमालेले संसद सचिवालयमा सांसदमाथिको कारबाहीको निवेदन दर्ता गरेको थियो । तर, सभामुख सापकोटाले विचाराधीन राखेका थिए ।

 

 

सम्बन्धित समाचार