नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।
एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको थियो । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तुत गरेका हुन् ।
गुरुङले संविधानको धारा १०१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेकोले प्रतिनिधि सभामा कायम रहेका एक चौथाई बढी सांसदले महाभियोग पेश हुने सूचना गरेको गुरुङले बताए । उनले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको सदस्यको हैसियतमा विभिन्न संवैधानिक निकायमा भाग लिएको र कार्यपालिकामा पनि हिस्सा खोजेको बताए ।
त्यस्तै बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । भदौ २३ गतेदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।

