गाईको शोकमा किरिया बसेपछि…

आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् ।

गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनले भने ‘गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु।’



योगी नरहरिनाथले कोटीहोम गरेको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उनका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद बस्तीले बताए । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उनको भनाइ छ ।

आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक बस्तीको भनाइ छ । स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्व संयोजक टङ्कनाथ पौडेलले बताए ।

सम्बन्धित समाचार