
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी नाम बताउने व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै खोटाङ, दिप्रुङचुईचुम्मा गाउँपालिका-६ दिउँ बस्ने ३८ वर्षीय सन्तोष भन्ने जसधन तामाङ सोही गाउँपालिका-५ स्थिात खोष्टुङ खोलाको छिपछिप पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । फागुन २६ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।
यस्तै जाजरकोट, भेरी नगरपालिका-३ ठाँटीस्थित जयकृष्ण पोल्टी सप्लायर्समा काम गर्ने भेरी नगरपालिका-१ कालेगाउँ बस्ने २७ वर्षीय भीम बहादुर बुढाथोकी सोही ठाउँस्थित बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी जुबी पेट्रोल पम्प नजिक डेरा गरी बस्ने भारत बिहार घर भएका ६५ वर्षीय कृष्ण शर्मा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी पाँचथर, हिलिहाङ गाउँपालिका-१ भीरफेदीस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४३ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
