
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-११ बज्रबाराहीस्थित पार्किङमा राखेको बा.२ ख ७३४३ नम्बरको बसमा सोही बसका सह-चालक सोही नगरपालिका-११ झ्यालिपाटी बस्ने ३५ वर्षीय राजु कुँवर बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै उदयपुर, बेलका नगरपालिका-८ कोठुस्थित सप्तकोशीको पुल नजिक त्रियुगा नगरपालिका-७ सरस्वती टोल बस्ने २२ वर्षीय काशिराज तामाङको शव बुधबार बिहान फेला परेको छ । फागुन २८ गते सोही नगरपालिका-७ चुहार भन्ने स्थानबाट दुध कोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीको किनारमा धनकुटा नगरपालिका-९ बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने मंगलबार मृत अवस्थमा फेला परेकी छन् । फागुन २९ गतेदेखि देखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त नदीको किनारमा शव फेला परेको हो । त्यसैगरी बाँके, राप्ती सोनारी गाउँपालिका-१ चुनाह बस्ने ४२ वर्षीय राम बिलास सुनार सोही
ठाउँस्थित राप्ती नदीको किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँ बस्ने आफ्नै सालाको घर जान्छु भनी हिँडेकोमा उनको झोला, टोपी र चप्पल मात्र फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुसुम र सशस्त्र प्रहरी बल नेपालबाट समेत खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
