देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

भेटमा स्थानीय तहको निर्वाचन र सत्ता गठबन्धनबीचको सम्भावित तालमेलको विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै भेटमा निर्वाचन हुन्छ कि हुँदैन भनेर चलेका हल्लाबारे प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । ‘हामी पूरै तागत लगाएर गइसक्यौं, तर बीच-बीचमा निर्वाचन हुँदैन भन्ने हल्ला पनि किन चलिरहेको छ ?’ प्रचण्डले प्रधानमन्त्री देउवासँग प्रश्न गरे ।



उक्त प्रश्नमा यस्तो हल्ला चलिरहने भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीले ढुक्क हुन आग्रह गरेको प्रचण्डले बताए । आज प्रेस सेन्टर लुम्बिनीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले तीन नेताबीच भएको छलफलबारे जानकारी गराएका थिए । प्रचण्डले भने, ‘प्रधानमन्त्रीज्यूले भोट हाल्ने दिनसम्म पनि भोट हाल्न पाइने हो कि नपाइने हो भनिराख्छन्, नेपाल यस्तो चलिराख्छ, भन्नुभयो ।’ त्यस्तै प्रचण्डले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमै हुने बताए ।

 

सम्बन्धित समाचार